२३ मंसिर, काठमाडौँ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले साग गेमको सफलता पुर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिएका छन् । सोमबार ओलम्पिक कमिटीले १३ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको प्रतिक्रिया दिए ।
प्रतियोगिता सुरु हुनु १ महिना अघि आएको प्राविधिक टोलि लगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका ब्यक्त गरेको बताए । तर खेल सुरु हुनु अगाडी आएको त्यहि प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तिन छक्क परेको बताए । साथै साग प्रतियोगिताको सफलता पुर्वक सम्पन्न भएकोमा समेत सबैले प्रसंसा गरेको बताए । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिदै आगामी दिनमा सच्चिदै जाने पनि बताए ।
१३ औं साग प्रतियोगिता मंगलबार एक बिशेष कार्यक्रमका बीच सकिँदै छ । यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतिक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ । १३औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ । यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरुमा प्रयोग गर्न सकिन्छ । यसरि आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो ।