२६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा हात्तीको आक्रमणमा परि मृत्यु भएकाको पीडित परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
महाकाली नगरपालिकाको आकस्मिक बैठकले मृतक बसन्ती भट्ट र भुरिदेवि बोहराको परिवारलाई जनही ५० हजार रुपैयाँ र घाइतेका परिवारलाई २५ हजार रुपैयाँका दरले सहयोग गर्ने भएको हो ।
महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीका अनुसार कार्यपालिकाको बैठकले मृतकका परिवारलाई किरिया खर्च स्वरुप जनही ५० रुपैयाँ हजार र घाइतेलाई उपचार खर्चका लागि जनही २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
हिजो बिहान महाकाली नगरपालिका २ स्थित मायापुरी सामुदायिक वनमा घाँस, दाउरा लिन गएका महिलाहरुलाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट ३८ वर्षीय बसन्ती भट्ट र ५० भुरिदेवी बोहराको घटनास्थलमै ज्यान गएको थियो भने सरिता ओझा, ललिता बोहरा, सुनिता विष्ट र उमा साउँद घाइते भएका थिए ।
घाइतेमध्ये ओझा र विष्टको भारतीय अस्पतालमा उपचार भइरहेकोे छ । उनीहरु दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा हात्तीको आतंकबाट यस वर्षमात्रै तीन जनाको ज्यान गइसकेको छ भने चार वर्ष यता ६ जनाको ज्यान गएको छ ।