२८ मंसिर, काठमाडौं ।
दुई दिन अघि बसेको केन्द्रीय समिति बहिष्कार गरेका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि पौडेल निवास बोहराटार पुगेका छन्।
शनिबार विहान पौडेललाई भेट्न देउवा र निधि पौडेल निवास पुगेका थिए । पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन्।
‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन्।
साथै पार्टी विभाग गठनमा पनि पौडेलको असहमति छ। सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलको आरोप छ।
सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गत बिहीबार बसेको केन्द्रीय समितिमा पेश गरेका छन्। आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुनेछ।
भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले चासो राखेको छ। पौडेलले यी दुई भातृ संस्थामध्ये एक आफू पक्षले पाउनुपर्ने अडान राखेका छन्।