अकुपाईं टुंडिखेलको छैठौँ हप्ताः खुलामञ्चको सरसफाई

अकुपाईं टुंडिखेलको छैठौँ हप्ताः खुलामञ्चको सरसफाई

२८ मंसिर, काठमाडौँ ।
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत शनिबार खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ ः खुला मञ्चको फोहोर कसिंगर जरैदेखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए । अकुपाईं टुंडिखेल अभियान कसैको विरोध वा समर्थनमा नभएको उनको भनाई छ । वडाध्यक्ष खड्गीले सम्बन्धित वडाध्यक्षहरुलाई आ—आफ्नो क्षेत्रमा सरसफाई गर्न मेयरले निर्देशन दिनुपर्नेमा अभियानका बारेमा गलत टिप्पणी गर्न नमिल्ने बताए ।

अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले खुल्लामञ्च महानगरको एकलौटी सम्पत्ति नभएको बताए । सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत यसअघि टुंडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए । टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो । अभियान विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आगाडी ६ हप्तासम्म अझै जारी रहनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.