सुरु भयो सिमकोट विमानस्थलमा हिउँ पन्छाउने काम

सुरु भयो सिमकोट विमानस्थलमा हिउँ पन्छाउने काम

२८ मंसिर, सिमकोट ।
हुम्लाको सिमकोट विमानस्थलमा जमेको हिउँ शनिबार आकाश खुलेपछि पन्छाउने काम सुरु भएको छ।

दुई दिनसम्म परेको लगातारको हिमपातका कारण हिउँ जमेपछि सो विमानस्थल बन्द भएको थियो । तीन दिन लगातार हवाई सेवा बन्द भएपछि विमानस्थलको हिउँ फाल्ने कार्य सुरु गरिएको हो।

शनिबार बिहान ११ बजेदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुले सिमकोट विमानस्थलको हिउँ फाल्ने कार्य सुरु गरेका हुन्।

सो कार्यमा सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज हमाल, प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंह लगायतका प्रहरी तथा सेनाका अधिकारीहरुले नेतृत्व गरिहेका छन्।

विमानस्थलमा डेढ फिट बाक्लो हिउँ जमेका कारण हिउँ फाल्न कठिन भइरहेको सहायक प्रजिअ हमालले बताए। तर पनि विमानस्थलको एप्रोनको हिउँ पन्छाएर हेलिकोप्टर ल्याण्ड गराउन सकिने गरी हिउँ फाल्ने कार्य भइरहेको उनले बताए।

विमानस्थलमा जमेको हिउँ पन्छाउनका लागि हेलिकोप्टरबाट ल्याइएको गाडी बिग्रिएपछि हिउँ फाल्ने काम नेपाली सेना तथा प्रहरीको सहयोगमा गर्नु परेको हो।

हिउँ सफा गर्ने गाडी विमानस्थलले तयारी अवस्थामा राख्नु पर्नेमा त्यसो नगरिएको पाइएको छ। जसले गर्दा सिमकोट विमानस्थल सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.