उपनिर्वाचनको परिणाम निराशाजनक छैनः नेता नेपाल

उपनिर्वाचनको परिणाम निराशाजनक छैनः नेता नेपाल

२८ मंसिर, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे ।

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए । ( रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.