२८ मंसिर, काठमाडौँ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् ।नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उहाँले यस्तो बताएका हुन् ।
पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उनले प्रश्न गरेका छन । शनिबार रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल देखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोखरेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताएका हुन् ।
२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाई गर्न नहुने उनको भनाई थियो । साक्षत्कारमा तत्कालिन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतिसँग जोडिएको बताए । नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए ।
फास्टट्रयाक एयरपोर्ट निर्माण सरोकार समितिका रविराज दंगालले विमानस्थल निर्माण रोक्नका लागि चलखेल भइरहेको आरोप लगाए । विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको खण्डमा नेपाल दशकौं पछाडी धकेलिने उनले बताए ।