१ पुुस, काठमाडौँ ।
चर्चित मिडिया कम्पनी फोब्र्सले आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ ।
फोब्र्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेका छन् ।
सूचीमा पहिलो स्थानमा रहेको नेपालबारे रोचक प्रसङ्ग र अनुभव पनि फोब्र्सले प्रस्तुत गरेको छ । विश्वकै चर्चित ‘एडभेन्चर’ गन्तव्य सगरमाथा भएको देशमात्र होइन, अत्यन्त ‘लक्जरी’ रिसोर्टसमेत भएको स्थानका रूपमा फोब्र्सले नेपाल चिनाएको छ । त्यस्तै चितवन र बर्दियाको सफारी क्याम्पजस्ता अद्भुत अनुभव नेपालमा लिनसक्ने जनाइएको छ ।
न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोब्र्सले उल्लेख गरेको छ । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो” फोब्र्सले लेखेको छ ।
“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । “विश्वमा योगध्यान प्रचलनमा आउनुभन्दा अघि नै नेपालबाट यसको सुरुआत भएको हो”, फोब्र्सले उल्लेख गरेको छ ।