१ पुुस, पोखरा ।
दोस्रो संस्करणको जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि– २० क्रिकेटमा आज सम्पन्न खेलमा चितवन राइनोजले जित हात पारेको छ ।
पोखरा विरुद्ध ६ विकेटको सहज जित निकाल्दै प्रतियोगिताको पहिलो खेलमा चितवनले विजय सुरुवात गरेको हो। टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको चितवनले १ सय ७ रनमा रोक्न सफल भयो।
सामान्य लक्ष्य पछ्याएको चितवनले ४ विकेटको क्षतिमा १४ ओभर ५ बलमै भेट्टायो। बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवनको सहज जित साकार भयो। उनले चितवनलाई ६६ रनको योगदान गरे। बाबरले ४२ बलमा ६ चौका र ४ छक्का हिर्काए ।
ओपनर ब्याट्सम्यान अनिल साह क्रिजमा टिक्न सकेनन्। रोहन मुस्तफाले चितवनलाई थप ११ रन जोडे। खेलमा कप्तान पारस खड्का ४, आरिफ शेख १ रन बनाएर आउट भए। उनीहरु दुवैलाई शरवजीत लड्डाले आउट गराए।
चितवनका लागि सन्नी पटेलले अविजित २२ रनको योगदान गरे। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। पटेलले बाबरसँग पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए।
शरद भेषावाकर कप्तानी रहेको साविक विजेता पोखरा पल्टनले उद्घाटन खेलमा जस्तो प्रदर्शन गर्न सकेन। प्रतियोगिताको पहिलो खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको जित हात पारेको थियो।
आज भएको खेलमा भने कप्तान भेषावकरले ३९ बलमा ४५ रन मात्रै बनाए। कुशल मल्ल १३, आसिफ शेख १०, रवि इन्दर सिंह १० र रशिद खानले १० रन मात्रै जोड्न सफल भएका थिए।