१ पुुस, काठमाडौं ।
नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छन् ।
श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि कांग्रेस संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताइन ।
सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न पनि उनले माग गरिन । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उनको आरोप थियो ।
फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाईरहेको उनले बताए । संग्रौलाले सामाजिक सुरक्षा कोषको सुरुवात भएको एक वर्ष वितेपनि कार्यान्वयन फितलो भएको उनले बताइन ।
प्रधानमन्त्रीले आफ्नो फोटो पोलपोलमा टाँस्न लगाएर नयाँ युगको सुरुवात भयो भन्दै भड्किलो प्रचार मात्रै गरेको र कार्यान्वयन फितलो भएको उनको भनाई छ ।
उनले सुरक्षा कोषमा सरोकारवालाहरु नै छुटेको दाबी गर्दै सरकारको धारणासमेत माग गरेकी छन । नेतृ संग्रौला छाया सरकारकी छाया श्रममन्त्री छिन ।