१ पुस, विराटनगर ।
जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न कम्पनीहरुको सहकार्यमा ‘स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराट फुटवयर एक्स्पो मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लिले आयोजना गरेको जुत्ता चप्पल मेलाको प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गरे ।
विराटनगर–७ स्थित जैन भवनमा सुरु भएको मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ । कार्यक्रममा मन्त्री कुसियतले नेपाली ब्राण्डका जुत्ता चप्पलहरु विदेशमा निर्यात हुनु उपलब्धीमुलक भएको बताउँदै उपभोक्ताहरुले स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने बताए । उनले स्वदेशी उद्योगहरुलाई बढावा दिन प्रदेश सरकार तयार रहेको पनि बताए ।
त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने निती ल्याउने तयारी भईरहेको बताए । नेपाली ब्राण्डहरु पनि अति उत्कृष्ट भएको बताउँदै उनले उपभोक्ताहरुले स्वदेशी उत्पादन कमसल हुन्छन् भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताए । मेयर पराजुलीले विराटनगरमा व्यापारिक प्रदर्शनीस्थल बनाउने तयारी गरिरहेको पनि जानकारी दिए ।
नेपाली जुत्ता उपभोक्ताहरुको पहुँचसम्म पुर्याउन नेपाली जुत्ता चप्पल उद्योगको बारेमा जानकारी गराउने तथा उत्पादन गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउ मेला आयोजना गरिएको आयोजकले जनाएको छ । १५ दिनसम्म चल्लने मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा हेर्न र खरिद गर्न सकिने छ । मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ताहरु राखिएको छ । मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पछिल्लो समय नेपाली ब्राण्डका जुत्ता चप्पलको लोकप्रियता बढ्दै गएको बताए ।
कार्यक्रममा उद्योगी व्यापारीहरुले व्यापार घाटा बढ्दै गईरहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । मेलामा जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको उपाध्यायले बताए । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । नेपाली जुत्ता घरले पछिल्लो तीन वर्षदेखि विराटनगरमा जुत्ता चप्पल मेलाको आयोजना गर्दै आईरहेको छ ।