२ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले सीमा सुरक्षाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेजीको माग गरेका छन् । सर्वोच्चमा परेको रिटको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा अदालतबाट आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेजीको माग गरेका हुन्।
सीमा सुरक्षाको माग गर्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको जवाफ मागेको सर्वोच्चलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै भूमि व्यवस्था मन्त्रालयलेसमेत समान ब्यहोराको लिखित जवाफ सर्वोच्चमा पठाएको छ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तासहितका स्थानका सीमाना सम्बन्धी समस्या समाधानका लागि सरकारकार क्रियाशिल रहेको भन्दै प्रधानमन्त्री ओलीले मंसिर २९ गते पठाएको जवाफ बुधबार (पुस २) गते सर्वोच्चमा पुगेको हो।
‘ऐतिहासिक दस्तावेज तथ्य प्रमाणासमेतका आधारमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तासहितका स्थानका सीमाना सम्बन्धी समस्या समाधानका लागि सरकारकार क्रियाशिल छ। परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई नक्सा तुरुन्त सच्याउन गत मंसिर ४ गते कूटनीतिक माध्यमबाट अनुरोधसमेत गरिसकिएको छ’, जवाफमा भनिएको छ।
अन्तराष्ट्रिय सीमा निरीक्षण समिति गठन भएको र सीमा निरीक्षण समितीलाई तीन महिनाको समय दिइएको प्रधानमन्त्रीको जवाफमा उल्लेख छ। ‘समितीलाई सीमा दुरुस्त रहे नरहेको जाँच गर्ने, अतिक्रमण भए नभएको एकिन गर्ने, सीमा स्तम्भ हराए नहराएको एकिन गर्नेलगायतका कार्य सम्पन्न गरी तीन महिनाभित्र परराष्ट्रमन्त्रालयमा प्रतिवेदन पेश गर्ने कार्यदेश तोकिएको छ’, प्रधानमन्त्रीको जवाफमा थप भनिएको छ, ‘प्रतिवेदन पेश भएपछि आवश्यक कार्ययोजनासहित मन्त्रिपरिषद्मा पेश गर्ने भनिएको छ। राज्य सीमा सुरक्षा सशस्त्र प्रहरीको एकाइलाई सीमामा परिचालन गरिएको छ।’
प्रधानमन्त्री ओलीको जवाफमा कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान हुने भन्दै रिट खारेजीको माग गरिएको छ। प्रधानमन्त्रीको जवाफमा भनिएको छ ‘कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा अदालतबाट आदेश जारी गरिरहनुपर्ने आवश्यकता नभएकाले रिट खारेजीको माग गर्दछौँ ।’