जिल्ला अदालतको निर्णयविरूद्ध महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदै

जिल्ला अदालतको निर्णयविरूद्ध महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदै

३ पौष, काठमाडौं । आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्दैछ ।

यसअघि महराले आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । अदालतले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र प्रतिकार गर्दा हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्न आदेश दिएको थियो।

सोही निवेदनमा सुनुवाइ गर्दै मुख्यन्यायाधीश नहकुल सुवेदीको इजलासले कैफियत प्रतिवेदन (अभियुक्तको जाहेरी देखि थुनामा पठाउने आदेशसम्म को विस्तृत विवरण)
दिन आदेश गरेका थिए। त्यसबाहेक महाराको मुद्दाको मिसिल पनि उक्त इजलासले मगाएको थियो ।

पक्राउ परेको एक महिनामा महरालाई जिल्ला अदालत काठमाडौंले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाउने आदेश गरेको थियो । असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। महराले आफूलाई बलात्कार गर्न खोजेको, नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन्।

त्यस्तै, पत्रकार अजयबाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको छ।

यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो। पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.