इँटाभट्टा हटाउन माग गर्दैै नगरपालिका घेराउ र तालाबन्दी

इँटाभट्टा हटाउन माग गर्दैै नगरपालिका घेराउ र तालाबन्दी

३ पौष, काठमाडौं । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बासिन्दाले इँटाभट्टा हटाउन माग गर्दैै चन्द्रागिरी नगरपालिकामा घेराउ र तालाबन्दी गरेका छन् । नगरपालिकाले आफ्नै निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयबासिन्दाले तालाबन्दी गरेका हुन् ।

इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै स्थानीयबासीले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । मंगलबार उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

स्थानीय बासिन्दाले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका छन् । इँटाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिकाभित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरे पनि अहिलेसम्म नहटेकाले आन्दोलन गर्नुपरेको बताए ।

चन्द्रागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन् । चन्द्रागिरीमा रहेका यी इँटाभट्टाका कारण कीर्तिपुरका बासिन्दालाई समेत असर परेको छ ।

सर्वोच्च अदालतले बालबालिका पढ्ने स्कुल, घनाबस्ती र विदेशी पर्यटकका लागि बनाइएका रिसोर्टवरपरको इँटा उद्योगहरू बन्द गराउन ०६२ मंसिर २४ मा आदेश जारी गरेको थियो । तर, अदालतको आदेशविपरीत घनाबस्ती, शैक्षिक संस्था वरिपरि इँटाभट्टा चलिरहेका छन् ।

चन्द्रागिरी नगरपालिकाले ०७२ भदौ १५ मा इँटाभट्टा बन्द गर्ने निर्णय गरेको थियो । एक वर्षअघि इँटाभट्टा इजाजत नवीकरण नगर्ने र साउन १ देखि सञ्चालनमा रोक लगाउने गरे पनि यो कार्यान्वयन हुन सकेको छैन ।

नगरपालिका आफैँले गरेको निर्णयसमेत कार्यान्वयन नगरेको भन्दै चन्द्रागिरी र कीर्तिपुरका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.