५ पुस, काठमाडौं ।
नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् ।
संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अधिकारीलाई ५ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरेको हो । अधिकारीलाई युनेस्कोले वर्ड एकेडेमी अफ साइन्समार्फत् दिइने ‘अट्टा–उर–रहमान पुरस्कार २०१९’ प्रदान गरिएको हो ।
हरेक वर्ष विभिन्न क्षेत्रमा खोजी गरेबापत एक रसायनशास्त्री वा वायोकेमिस्टलाई यो पुरस्कार प्रदान गरिन्छ । अधिकारीले नेपालमै हुने प्राकृतिक उत्पादन टिमुरको प्रयोग गरी मधुमेह र रक्तचापलगायत रोगबाट मुक्ति पाउन सकिने विषयमा खोजी गरेका थिए ।
पुरस्कारबाट प्राकृतिक उपचार विज्ञान र अरु पनि वैज्ञानिक खोजका लागि आफूलाई थप ऊर्जा मिलेको अधिकारीले प्रतिक्रिया दिएका छन् । पाकिस्तानबाट विद्यावारिधि गरेका उनले ब्राजिलबाट महाविद्यावारिधिको उपाधि पाएका थिए ।
झन्डै साढे २ वर्षअघि उनी नेपाल फर्किएर प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला स्थापना गरेका थिए । सोही प्रयोगशालाबाट उनले नयाँनयाँ अनुसन्धान गर्दै आएका छन् । उनका अनुसन्धानहरु स्थानीय बोट(बिरुवाहरुसँग सम्बन्धित छन् ।