५ पुस, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक थप एक दिन लम्बिएको छ । शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ भने दिएका छन् ।
आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बिहिबार स्थाई समितिका सदस्यहरुले बोल्ने क्रम सकिए पनि बैठक शुक्रबार नबसी आज बसेको हो । साता लामो बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले सरकारको कामको ्आलोचना गरेको समाचार बाहिर आएको थियो ।
सदस्यहरुले जनतामा छाएको निराशा, पार्टी एकलौटी ढंगले निर्णय गर्ने प्रवृत्तिले पार्टी चल्न नहुने भन्दै नेतृत्वलाई सुझाव दिनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले बताए । बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सुझावका आधारमा परिमार्जन, विधान संशोधनबारे थप स्पष्ट पार्न समय आवश्यक परेकोले बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै आजको बैठक पछि सम्बाददाताहरु सँग कुरा गर्दै स्थाई कमिटि सदस्य नेता भिम रावलले अमेरिकी सरकारले दिने भनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फतको सहयोग बारे पार्टी र सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताए । प्राप्त हुने सहयोग अमेरिकी इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो भने तत्काल रोक्न आफुले माग गरेको बताए । अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।