६ पौष, काठमाडौं । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले सोमबारबाट भौचर मेलाको आयोजना गर्ने भएको छ । भौचरमा आधारित छोटो अवधिको तालिमका सहभागिहरुलाई भौचर वितरण भोली र पर्सि गरी दुई दिन मेला आयोजना हुने भएको हो ।
यो आर्थिक वर्षमा ३१ हजार ७५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित सोमबार भौचर मेलाको आयोजना हुने भएको हो ।
तोकिएको मापदण्डअनुसार छनौट भएका ७४ जिल्लाका ६० वटा विद्यालयहरुमा नतिजामा आधारित र उपत्यकामा भौचरमा आधारित तालिम प्रदान गरिने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताए ।
उपत्यकामा सोमबारबाट हुने भौचर मेलामा १० हजार ९४१ जनालाई भौचर वितरण गर्ने कार्यक्रम रहेको छ । मेलामा सहभागि हुन २६ हजार ३५९ जनाले आवेदन दिएका थिए ।
सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।