निलम्बनमा परेका चार फुटबलरलाई राहत, कात्तिक ३० बाटै कारबाही गणना

निलम्बनमा परेका चार फुटबलरलाई राहत, कात्तिक ३० बाटै कारबाही गणना

८ पुस, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ । उनीहरुको निलम्बन नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै लागु हुने गरी मंगलबार पुनरावलोकन समितिले निर्णय गरेको हो ।

यससँगै बिमल घर्ती मगरले ए डिभिजन लिग खोल्ने बाटो खुलेको छ । विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि एन्फाले विमल, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो । त्यसो हुँदा विमल र दिनेशले यो सिजन ए डिभिजन लिगका सबै खेल गुमाउँथे । चारै खेलाडीले निलम्बन घटाउन निवेदन दिएपछि त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गतेबाट ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.