८ पुस, काठमाडौँ ।
समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । पार्टीका तर्फबाट उपप्रधान तथा कानून मन्त्री बनेका उपेन्द्र यादवले राजीनामा दिएका छन् । यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् ।
यस्तै समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए । तर प्रधानमन्त्रीले उनको प्रस्ताव अस्वीकार गरिदिएको बताइएको छ । वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिएको बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री यादवले संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरेका थिए । २०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम पार्टी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुने बेलामा नेकपा र फोरमबीचमा दुई बुँदे सहमति भएको थियो ।
दुई बुँदे सहमतिको पहिलो बुँदामा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने उल्लेख थियो भने दोस्रो बुँदामा तत्कालीन फोरम सरकारमा सहभागी हुने उल्लेख थियो । विगतमा भएको सहमतिकै आधारमा आफूले प्रस्ताव लगेको यादवले बताएका छन । मन्त्रिपरिषद् पुनर्गठन भएपछि प्रधानमन्त्रीले उनलाई गत मंसिर ४ गते कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।