एजेन्सी, पुस १०
बलिउड सुपरस्टार आमिर खानले अभिनय गरेको फिल्म ‘दंगल’ दशकको सबभन्दा हिट हिन्दी फिल्म बनेको छ । २०१९ को अन्तिम महिनामा आएको सलमान खानको फिल्म ‘दबंग ३’ को व्यापार साचेअनुसार नभएपछि ‘दंगल’ले दशकको हिट हिन्दी चलचित्रमा आफ्नो नाम लेखाएको हो ।
‘दबंग ३’ लाईसय करोड कमाउन नै पाँच दिन लाग्यो । यससँगै गएको दशकमा ‘दंगल’ले भारतमा गरेको ३ सय ८७ करोडको व्यापारलाई उछिन्ने कुनै फिल्म भएनन् । यसको निर्देशन नितेश तिवारीले गरेका हुन् ।
यसलाई रनवीर कपुरको ‘सञ्ज’ ले पछ्याए पनि भेट्टाउन सकेन । अघिल्लो २००० को दशकमा पनि आमिर खानकै फिल्म सबभन्दा ठूलो हिट थियो । आमिरको २००९ मा आएको फिल्म ‘थ्री इडिएट्स’ ले २ सय करोडभन्दा बढीको व्यापार गरेको थियो । राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्म दुई सय करोडको व्यापार गर्ने पहिलो बलिउड फिल्म पनि हो । बलिउडमा सय, दुई सय र तीन सय करोडको व्यापार गर्ने पहिलो फिल्मको रेकर्ड आमिरकै नाममा छ ।









