१३ पुस, काठमाडौं ।
प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको प्रदेश ३ सरकारका एक मन्त्रीले बताए । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।
यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन भने राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन ।