१३ पुस, काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन्। भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नेपाल चेम्बर अफ कमर्सको काठमाडौंको कान्तिपथ स्थित भवनमा पर्यटन वर्षको लोगोसहितको बोर्ड राख्ने कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवद्र्धन सम्भव नभएको बताएका हुन्।
उनले पर्यटन व्यवसाय भएको र यसको फाइदा निजी क्षेत्रलाई प्रत्यक्ष हुने भएकाले निजी क्षेत्रको सहभागिता बिना पर्यटन वर्षको लक्ष्य हासिल गर्न सम्भव नरहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सकृयता आवश्यक रहेको बताए । त्यसैलाई ध्यान दिई नेपाल चेम्बर अफ कमर्सले प्रवद्र्धनात्मक सन्देश र भ्रमण वर्ष २०२०को लोगो सहितको होडिङ बोर्ड राखेको बताए ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताए । उनले भ्रमण वर्षको उद्घाटन भव्य रुपमा सम्पन्न गर्न पनि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा भ्रमण वर्षको लोगो र सन्देश सहितको आकृतिको होडिङ वोर्ड राखेको हो ।