१४ पुस, विराटनगर ।
विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट एक सशस्त्र प्रहरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार दिउँसो सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग लिएको घुससहित पक्राउ गरिएको जानकारी दिए । विश्वासले घुस वापत लिएको रकम बसपार्कमा रहेको अप्सरा गेस्ट हाउस मुनी सञ्चालन गरिएको किराना पसलमा लुकाएर राखेको अवस्थामा फेला पारिएको उनले बताए ।
ढकालका अनुसार विश्वासमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान सुरु गरिएको छ । विराटनगरस्थित सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत रहेर सादा पोसाकमा घुमुवाका रुपमा परिचालित भएका विश्वास मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियाका हुन् ।