१४ पुस, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे ।
सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । मन्त्री पोखरलेले कार्यक्रम कार्यन्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फपनि ध्यान दिन आग्रह गरे । एउटा पालिकले अर्को पालिकासँग मिलेर हुन्छ वा नीजि क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरुको बीचमा पनि साझेदारीको रुपमा लैजान सके यो दिगो र टिकाउन हुने उनले बताए ।
मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रुपमा एकरति पनि कमि हुन नहुने बताए । नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ गरिएको छ ।