१६ पुस, विराटनगर ।
नेपाल पर्यटन वर्ष २०२० को प्रदेश १ सरकारले पनि भव्य शुभारम्भ गरेको छ । प्रदेश सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात बुधबार विराटनगरस्थित सहिद रंगशालामा भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरेको हो ।
भ्रमण वर्षको शुभारम्भमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । यस्तै विभिन्न जातजातिका झाँकीहरू प्रस्तुत गरेका थिए । संघीय सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको प्रदेश सरकारको भ्रमणवर्षको उद्घाटनमा उल्लेख्य सहभागिता रहेको थियो ।
भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई १० वर्षमा संसारकै सुन्दर पर्यटकीय गन्तव्य बनाउने उदघोष गरे । उनले सोही अनुरुप कार्ययोजना बनाईरहेको पनि जानकारी दिए । हाल कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १दशमलव ९६ प्रतिशत रहेको प्रदेश १ मा प्रदेश सरकारले आगामी पाँच वर्षभित्र प्रदेशको ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत बनाउने लक्ष्य राखेको छ । मुख्यमन्त्री राईले पर्यटन क्षेत्रमा हाल ३२ हजारले रोजगार रहेकोमा आगामी पाँच वर्षभित्र भने तीन गुणाले वृद्धि हुने बताए । विविधताले भरिपूर्ण प्रदेश एकमा पर्यटनको प्रशस्त सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री राईले व्याबसायीलाई पर्यटन प्रवद्र्धनको प्याकेज अगाडी बढाउन आग्रह गरे ।
त्यस्तै प्रदेश १ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटनमा भएको व्यापक सहभागीताले नै प्रदेश १ सरकारले लिएको लक्ष्य पुरा हुने बताए । उनले प्रदेश १ पर्यटनका लागि प्रसस्तै सम्भावना भएकोले सरकारले साही अनुरुप पर्यटकीय गन्तव्यको खोजी र प्रवद्र्धनमा लागेको बताए ।
कार्यक्रममा उपस्थित भएका भारतीय ग्रामिण पर्यटनविज्ञ राज बासुले नेपाल र भारतका ग्रामिण पर्यटन क्षेत्रलाई जोडेर प्याकेज बनाउन सके पर्यटक भित्र्याउन सहज हुने बताए । कार्यक्रममा प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति राजन अधिकारी लगायतलाई सम्मान गरिएको थियो । भ्रमण वर्षका लागि प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मुल समिती र १२ उपसमिती गठन गरेको छ ।