१७ पुस, काठमाडौं ।
चितवनका एसपी दानबहादुर मल्ललाई सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको छ ।
प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन भनेको छ ।
चितवनका प्रहरी प्रमुख मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरपनि हालसम्म मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छ्रैनन् ।
पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्नेछ । यही पुस ४ गते मल्लसहित २४ एसपीको सरुवा भएको थियो । मल्लको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा भएको थियो तर उनी भने अहिलेसम्म चितवनमै छन् ।
