राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता गर्न तीन बजेसम्मको समयसीमा

राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता गर्न तीन बजेसम्मको समयसीमा

पुस २०, काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आज अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित वा अल्पसंयक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्नेे कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुई वर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

यसैबीच राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे र बलरामप्रसाद बाँस्कोटा रहेका छन् ।

यस्तै मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल पूरा हुँदैछ ।

उनीहरुको आगामी फागुन २० गते कार्यकाल सकिनेछ । फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.