२१ पौष, काठमाडौं । चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न अटेर गरेको विद्यार्थीले बताएका छन् ।
विद्यार्थीका अनुसार कलेजले हालसम्म शुल्क समायोजनको प्रक्रिया थालेको छैन। गत मंसिर १० गते निजी मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्रालयबीच भएको सहमतिमा यथाशीघ्र शुल्क समायोजन गर्न सञ्चालक तयार भएका थिए। तर, एक महिना बित्दा पनि चितवन मेडिकल कलेजले शुल्क समायोजन प्रक्रिया अघि बढाएको छैन।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दका अनुसार हालसम्म कलेजले शुल्क समायोजनको प्रक्रिया थालेको छैन। शुल्क समायोजनका लागि विभिन्न चरणमा दबाब दिइएको भए पनि कलेज तयार नभएको चन्दले बताए। शुल्क समायोजन नभएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।
शुल्क समायोजनमा कलेजले तत्परता नदेखाएपछि अभिभावक, राजनीतिक दलका प्रतिनिधिसँग विद्यार्थीले छलफल पनि गरे। तर, कलेज सञ्चालक छलफलमा उपस्थित नभएपछि अन्यौल उत्पन्न भएको चन्दले बताए। उनका अनुसार शिक्षा मन्त्रालयसँग कलेजले शुल्क समायोजन गर्ने सहमति गरेको थियो।
कलेजले एमबिबिएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने भन्दै सूचना निकालेको छ। तर, के कति शुल्क समायोजन हुने आधार नदेखिएको, तेस्रो र चौथो वर्षमा उठाइएको शुल्कबारे मौन रहेको भन्दै विद्यार्थीले कलेजको उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
एमबिबिएस पहिलो र दोस्रो वर्षमा तोकिएको भन्दा छ लाख २५ हजार बढी शुल्क उठाएको विद्यार्थीले बताउँदै आएका छन्। बढी उठाएको शुल्कको कागजात नै देखाएर विद्यार्थीले आन्दोलन गरिरहेका छन्।
तेस्रो र चौथो वर्षमा अध्ययनरत् विद्यार्थीलाई झनै चर्को शुल्क लिएको आन्दोलनरत् विद्यार्थीको दाबी छ। त्यो शुल्कबारे शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच के कस्तो सहमति भएको हो भन्ने जानकारी विद्यार्थीले पाएका छैनन्।
मन्त्रालय र कलेज सञ्चालकबीचमा भएको सहमतिमा पनि त्यसबारे उल्लेख गरिएको छैन। यसै विषयलाई लिएर मंसिर १९ गतेदेखि सञ्चालन भएको एमिबिएस पहिलो वर्षको परीक्षा विद्यार्थीले बहिस्कार गरेका थिए ।
चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेले भने विद्यार्थी शुल्क समायोजन प्रक्रियामा सहभागी नै नभएको बताए। उनले शिक्षा मन्त्रालयसँग सहमति भएको पर्सिपल्टै विद्यार्थी र अभिभावकलाई फोन गरेर, सूचना टाँसेर शुल्क समायोजनमा सहभागी हुन अनुरोध गरेको बताए।
शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच भएको सहमतिमै विद्यार्थीले औंला उठाइरहेका छन् । विद्यार्थीले कलेज शिक्षा मन्त्रालय र सञ्चालकबीच भएको सहमति नै ‘अमूर्त’ रहेको बताउँदै आएका छन्। शिक्षा मन्त्रालयले शुल्क समायोजनका लागि चितवन मेडिकल कलेजमा पटक(पटक प्रतिनिधि खटाएको छ।
एक साताअघि पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसी चितवन मेडिकल कलेज पुगेका थिए। तर, शुल्क समायोजनको प्रक्रियामा विद्यार्थीलाई चित्त बुझाउन नसकेको उनले बताए। सरकारले एमबिबिएस शुल्क तोकेकै बेलादेखि चितवन मेडिकल कलेजले विद्यार्थीबाट लाखौं रुपैयाँ बढी शुल्क उठाउँदै आएको छ ।
२०७२ सालदेखि सरकारले एमबिबिएस शुल्क तोक्न थालेको थियो। चितवन मेडिकल कलेजले २०७३ सालमा एक विद्यार्थीबाट १६ लाख रुपैयाँ बढी शुल्क लिखित रूपमै उठाएको भेटिएको छ ।
सरकारले २०७२ सालमा एमबिबिएस शुल्क मेडिकल कलेजमा ३५ लाख रुपैयाँ तोकेको थियो। तर, चितवन मेडिकल कलेजले २०७३ सालमा एमबिबिएसको आठौं ब्याचका एक विद्यार्थीबाट ५८ लाख रुपैयाँ लिखित रूपमै उठाएको थियो ।