२१ पुस, सप्तरी ।
सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर एक सातादेखि आन्दोलित सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले गाउँपालिका कार्यालयमा धर्नामा बसेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा ज्येष्ठ नागरिकहरुले सुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ । कार्यालयको मुख्यद्वारमै दिउँसो १ बजेसम्म धर्ना बसेका कारण सो अवधिभर कार्यालयको सम्पूर्ण कामकाज पूर्णमा ठप्प भएको हो । ज्येष्ठ नागरिकहरुले गत मंगलवार गाउँपालिका कार्यालय घेराउ गरेर सुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका हुन् ।
उनीहरुले वडा भेला–गाउँसभा पारदर्शी ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका हुन् । अझै माग सम्वोधन गर्नेतर्फ सम्वन्धित पक्षले ध्यान नपु¥याए थप सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।