पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई आज चीन पठाईंदै

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई आज चीन पठाईंदै

२३ पौष, काठमाडौं । सरकारले गएको पुस ७ गते काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाउने तयारी गरिरहेको छ ।

४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना लिएर छाड्ने आदेश दिएसँगै कारबाहीको जिम्मेवारी अध्यागमन विभागमा पुगेको थियो ।

विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको देखिएको र प्रहरीको अनुसन्धानले पनि ठूलो अपराध नगरेको देखाएकोले चीन पठाउन लागिएको विभागका महानिर्देशक पौडेलले बताए ।

विभागले उनीहरुको भिसा रद्द गरिदिएको छ । यस्तै चिनियाँ दूतावासले उनीहरुको राहदानी पनि रद्द गरिदिएको छ । उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरि कालोसूचीमा राखिएको पनि अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई चीन पठाउन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिएको विभागका महानिर्देशक पौडेलको भनाई छ । उनीहरुलाई चीन लैजान विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.