२३ पुस, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफुले अभिभावकत्व ग्रहण गरेका २ जना विद्यार्थीहरुलाई स्टेशनरी लगायत आवश्यक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफुले अभिभावकत्व ग्रहण गरेका मध्ये कटहरी गाउँपालिकाको जनता मावि थलाहामा कक्षा १ मा अध्ययनरत आशिसकुमार सरदार र शुष्माकुमारी सरदारलाई बुधबार सामाजिक विकास मन्त्रालयमा ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री घिमिरेले विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी, ब्याग, पोसाक लगायत हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण गर्दै मन्त्री घिमिरेले शिक्षाबाट बन्चित बालबालिकाको पठनपाठनलाई सहजता बनाउन धेरैभन्दा धेरैको अभिभावकत्व लिने बातावरण तयार गर्न नसकिएको बताए । उनले सामाजिक कार्यकर्ताहरुलाई बालबालिकाको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्न आग्रह पनि गरे ।
विद्यार्थीका अभिभावकले मन्त्री घिमिरेले बालबालिकाको पठनपाठनको सम्पूर्ण जिम्मा लिएको र घरबाट खर्च गर्नु नपरेको भन्दै खुसी व्यक्त गरे । शिक्षाबाट बन्चित बालबालिकाकोे शिक्षामा सहयोग गर्न सार्वजनिक पद धारणा गरको व्यक्तिले अभिभावकत्व लिन सक्ने सरकारको अभियान अनुसार मन्त्री घिमिरेले ३ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । जसमध्ये एक जना इलामको विद्या सिर्जनात्मक माविमा कक्षा १० मा अध्ययनरत माङ्सेबुङकी मनिहाङ्मा लिम्बु पनि रहेकी छिन् । यसअघि मन्त्री घिमिरेले उनको उपचारमा पनि सहयोग गरेका थिए ।