२३ पुस, काठमाडौं ।
सार्वजनिक यातायातका साधानमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको हो ।
म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
उनले भने ‘गाडीमा गीत बजाउँदा र गीत परिवर्तन गर्दा चालकको ध्यान सवारीबाट बाहिर गएर दुर्घटना हुने सम्भावना धेरै हुने भएकाले यस्तो नियम लागु गरिएको हो ।’
सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेसलगायतका सजावट सामग्री पनि दुर्घटनाको कारण भएको भन्दै विभागले यस्ता सामग्री पनि नराख्न निर्देशन दिएको उनले बताए।
सार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिएको महानिर्देशक हमालले बताए। विभागको निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास नदिने उनले बताए।
पहिलो चरणमा यो नियम सार्वजनिक गाडीमा मात्रै लागु हुने विभागले बताएको छ। केही समयपछि निजी सवारीसाधानमा पनि उक्त नियम लागु गर्ने तयारी रहेको महानिर्देशक हमालले बताए। यसका साथै चालकले जुत्ता नलगाएर सवारी चलाएमा पनि कारबाही गर्ने विभागले बताएको छ। विभागको निर्देशन कार्यान्वयन नगर्ने चालकलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने बताइएको छ।