तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

२४ पुस, डोटी ।

मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए । उनले भने, “गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।”

हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा तेस्रोपटक हिउँ परेका कारण स्थानीय किसान हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ । स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ । दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाव दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.