इराकमा कार्यरत नेपाली सेनानी भन्छन्: ‘खतरा बाहिर छौँ’

इराकमा कार्यरत नेपाली सेनानी भन्छन्: ‘खतरा बाहिर छौँ’

एजेन्सी, पुस २४
शान्ति सेनाका रूपमा इराकमा खटिएको नेपाली सेनाको सुरक्षाबारे चिन्ता व्यक्त भइरहँदा त्यहाँ कार्यरत सेनाका अधिकारीले इरान–अमेरिका तनावले नेपाली सेनालाई खासै असर नपार्ने बताएका छन्। शान्ति सेनामा खटिएका नेपाली सेनाका सेनानीले आफुहरु अमेरिकी सैन्य शिविरहरूभन्दा फरक स्थानमा रहेकाले आफूहरू खतरा बाहिर भएको बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै बताए।

बुधवार नेपाली सेनाले शान्ति सेनाका रूपमा इराक, सिरिया र लेबननमा खटिएका आफ्ना सेनाहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको जनाएको थियो। इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग अनामीको सुरक्षाका लागि ७७ जना नेपाली सैनिकहरू खटिएका छन्। नेपाली सेनाका सेनानी राजेन्द्र बोगटीका अनुसार नेपाली सैनिकहरू किर्कुकमा ६७ जना र एर्बिलमा १० जना खटिएका छन् ।

 उनले भने, ’यहाँ सुरक्षा संवेदनशीलता त छ। तर हामी अमेरिकी सेनाको आधार शिविरमा छैनौँ, त्यसलैले धेरै खतरा छैन। हामीसँग उनीहरूको सम्पर्क हुँदैन।‘उनले दुवै स्थानमा नेपाली सेनाहरू अमेरिकी सेनाको शिविरभन्दा टाढा रहेको जानकारी दिए।

इरानले अमेरिकी सेनाको दुई आधार केन्द्रहरूमा हमला गरे पनि राष्ट्रसङ्घीय नियोगहरू रहेको क्षेत्र सुरक्षित रहेको उनको भनाइ छ। परिस्थितिको निरन्तर अनुगमन गर्न तथा शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन पनि सैन्य मुख्यालयले उनीहरूलाई निर्देशन दिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.