पार्टी निर्णयबारे मलाई केही जानकारी छैन,म राजीनामा दिन्न : उपसभामुख

पार्टी निर्णयबारे मलाई केही जानकारी छैन,म राजीनामा दिन्न : उपसभामुख

२६ पुस, काठमाडौँ ।
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने बताएकी छन् । उनले नेकपा सचिवालय बैठकका निर्णय आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले केहीबेरअघि उनलाई राजीनामा गराउने निर्णय गरेको छ।

पार्टी सचिवालय बैठकले राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ अब के गर्नुहुन्छ भन्ने अन्नपूर्णको प्रश्नको जवाफमा उनले राजीनाम नदिने बताएकी हुन्। ‘पार्टी निर्णयबारे मलाई केही जानकारी छैन’, तुम्बाहाङफेले भनिन्, ‘म राजीनामा दिन्न।’

उपसभामुखको राजीनामा पछिमात्र सभामुखको टुंगो लाग्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको बैठक फेरि बस्न सकेको छैन।

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। उपसभामुख तुम्बाहाङफेसमेत सभामुखको दाबेदार हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.