पृथवीनारायण शाहका दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति

पृथवीनारायण शाहका दृष्टिकोण गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति

२७ पुस, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीद्वारा आज जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । “नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । ” सन्देशमा भनिएको छ ।

उनले छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको स्मरण गरेकी छिन् । सन्देशमा भनिएको छ, “नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।”

जनतालाई सर्वोपरी ठान्ने पृथवीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको सन्देशमा उनले उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले सन्देशमा ऐतिहासिक यस दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने उल्लेख गरेकी छिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.