२९ पुस, चितवन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा जटिलता देखा परेको बताएका छन्।
सभामुख छनौटको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग किचलो परिरहेका बेला उनले यस्तो बताएका हुन् । खिचरा महोत्सव उद्घाटन गर्न चितवनको माडीमा पुगेका उनले केन्द्रीय राजनीतिमा बेला–बेला केही जटिलता उत्पन्न हुने र अहिलेको अवस्था त्यस्तै भएको बताएका हुन्।
निर्वाचनका बेलामा आफूले माडीलाई दुर्गमबाट सुगम बनाउने भनी गरेको प्रतिवद्धता नभुलेको भन्दै उनले अब माडी पिछडीएको क्षेत्र नरहने दावी गरे। उनले विकासका पूर्वाधारको निम्ति प्रक्रिया अगााडी बढाएको भन्दै आफूले माडीका लागि देखेको सपना अझै पूरा नभएको बताए।
आफ्नो समय अझै तीन वर्ष रहेको भन्दै उनले माडीको पीडा समाधानका लागि लगातार बहस र संघर्ष गरेर समृद्धिको यात्रामा लैजाने उनको भनाइ छ। उनले माडीमा कृषी र पर्यटनको विकास आवश्यक रहेको बताए।
माओवादी द्वन्दकालमा भएको बाँदरमुडे घटनापछि प्रचण्ड उक्त क्षेत्रका जनतासँगको सम्बन्ध सुधारका लागि लगातार प्रयासरत छन्। २०७४ को संसदीय निर्वाचनमा प्रचण्ड चितवन क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए। माडी पनि सोही क्षेत्रमा पर्छ।