सिंहदरबारस्थित संसद भवन भत्काएर नयाँ बनाइने

सिंहदरबारस्थित संसद भवन भत्काएर नयाँ बनाइने

२९ पुस, काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् ।

बैठकमा सांसदहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदा समेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझाव समेत दिन नसकेको बताए । सांसद यज्ञराज सुनुवारले जिर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताए ।

 

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरु विज्ञबाट आएको बताए। राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताए । उनले केहि बजेट विनियोजन गरिएपनि के बनाउने भन्ने निक्र्योल भएपछि बजेट थप हुने बताए ।

समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.