१ माघ, काठमाडौँ ।
मिर्गौलाले राम्ररी काम नगरेपछि डायलसिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ । मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा सुरु गर्ने तयारी गरिएको हो ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले भने, ‘उहाँ (ओली)ले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ । ’ प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिए केही पछाडि सर्न सकिने उनले बताए । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य स्थितिमा अप्रत्याशित कुनै जटिलता, जोखिम वा कुनै सम्भावित खतरा नदेखिए फागुनमा प्रत्यारोपण प्रक्रिया सुरु गर्ने सोच बनाएको हो ।
त्रिवि शिक्षण अस्पतालमा सातामा दुईपटक हेमोडायलसिस गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ‘स्थिर’ छ । मंसिरमा १० दिनको अस्पताल बसाइपछि केही सावधानी अपनाउँदै उनी नियमित काममा फर्किसकेका छन् । बाहिरबाट हेर्दा एपेन्डेसाइटिस शल्यक्रियाको घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै एक महिना लाग्न सक्ने आँकलन चिकित्सकहरूको छ । पेटको शल्यक्रियाको असरबाट पूर्ण मुक्त भएपछि मात्र चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी थाल्नेछन् ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा ७ पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगरेपछि डायलसिस हुँदै आएको छ । प्रत्यारोपणबारे चिकित्सकहरूले परामर्श गरिरहेका बेला ओलीको एपेन्डिक्सको शल्यक्रिया गत मंसिर १० गते गर्नुपरेको थियो । शल्यक्रियाले गर्दा आएको जटिलताका कारण प्रत्यारोपण प्रक्रिया रोकिएको हो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
चिकित्सकका अनुसार प्रत्यारोपण नै उत्तम विकल्प हो । भारतस्थित फोर्टिस हस्पिटल, नेफ्रोलजीका निर्देशक प्रा.डा. सञ्जीव गुलाटी मिर्गौला फेल भएका बिरामीका लागि नियमित डायलसिसभन्दा प्रत्यारोपण धेरै सुरक्षित र उपयुक्त हुने बताउँछन् । ‘सामान्य अवस्थामा नियमित डायलसिसभन्दा प्रत्यारोपण गराउनु चार–पाँच गुणा राम्रो हुन्छ,’ उनले भने, ‘सय जनालाई अमेरिकामा जस्तै डायलसिस गरेर राख्यौं भने पनि ५ वर्षपछि २० जना जतिमात्र जीवित रहने गरेको पाइन्छ ।’ प्रत्यारोपण गर्दा हरेक वर्ष सयमा ३–४ जनालाई मात्र समस्या आउने र अरू पूर्ण स्वस्थ रहने गरेको उनले बताए ।