१ माघ, एजन्सी । ताइवानकी नवनिर्वाचित राष्ट्रपति साई इङ वेनले आफ्नो देशमाथि चीनले हमला गरे त्यो उसलाई निकै महंगो पर्ने बताएकी छन् ।
गत शनिबार भएको चुनावमा दोस्रो पटक राष्ट्रपति चुनिएकी ६३ वर्षीया वेनले बेलायती प्रसारण संस्था बिबिसीसँग कुरा गर्दै पछिल्ला तीन वर्षमा बेइजिङबाट निरन्तर धम्की आइरहेको बताइन् । उनले आफू बेइजिङसँग कुराकानी गर्न तयार भए पनि दोस्रो कार्यकालमा चीनबाट झन् धेरै दबाब आउनेमा पनि सचेत भएको बताएकी छन् ।
के ताईवान चीनसँग युद्ध गर्न तयार छ त भन्ने प्रश्नमा उनले भनिन्, हामी पूरा प्रयास गरिरहेका छौं आफ्नो क्षमतालाई बलियो बनाउन। ताइवानमा हमला गर्नु चीनका लागि निकै महंगो पर्नेछ । उनले चीनले ताइवानलाई इज्जत गर्नुपर्ने तर्क गरिन् ।
चीनले एक चीन नीतिअन्तर्गत ताइवान पनि आफ्नो हिस्सा भएको ठान्दछ। कतिपय देशले एक चीन नीतिको समर्थनमा ताइवानलाई छुट्टै देशको मान्यता दिएका छैनन् । ताइवानमा भने बेइजिङको विरोधमा ठूलो मत छ । तीमध्ये राष्ट्रपति वेन एक हुन्।
गत शनिबार भएको चुनावमा उनले ५७ प्रतिशत अर्थात् ८२ लाख मत पाएकी छन्। उनका प्रतिष्पर्धी उम्मेदवार हान किओ(यूले ३९ प्रतिशत मत पाए । पराजित यू बेइजिङसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् ।
यसपालिको चुनाव ताइवानी नागरिकले बेइजिङलाई हेर्ने दृष्टिकोणबारेको जनमत संग्रहजस्तो मानिएको थियो । यो चुनावमा संस्थापनविरोधी वेन भारी मतसहित विजय भएपछि बेइजिङलाई धक्का लागेको विश्लेषकहरूले बताएका छन् । वेनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले संसदमा पनि बहुमत पाएको छ ।
चीनले सन् १९४९मा गृहयुद्ध अन्त्य भएदेखि नै ताइवानमाथि दाबी गर्दै आएको छ । एक चीन नीतिअन्तर्गत ताइवान पनि चीनमा गाभिन पर्ने उसको तर्क छ ।
वेन राष्ट्रपतिमा फेरि निर्वा्चित भए पनि आफूले दाबी नछोड्ने चीनले बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति चुनिने कुरा ताइवानको आन्तरिक मामिला भएको बताएको छ ।