गण्डकी मेडिकल कलेजका सञ्चालक अर्याललाई बयानमा बोलाउने सम्पत्ति शुद्धीकरण विभागको तयारी

गण्डकी मेडिकल कलेजका सञ्चालक अर्याललाई बयानमा बोलाउने सम्पत्ति शुद्धीकरण विभागको तयारी

१ माघ, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई बयानमा बोलाउने तयारी थालेको छ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालमाथि छानबिन थालेको विभागले अनुसन्धान सकिएपछि बयानमा बोलाउन लागेको हो । विभाग स्रोतका अनुसार अर्यालको सम्पत्ति छानबिन लगभग सकिएको हो ।

अनुसन्धानका क्रममा अर्यालको सम्पत्ति अस्वाभाविक देखिएको विभाग स्रोतले बतायो । अर्यालले गैरकानुनी तरिकाबाट एक अर्ब बढी सम्पत्ति आर्जन गरेको देखिएको छ ।

विभाग स्रोतका अनुसार उनले विद्यार्थीबाट गैरकानुनी रूपमा रकम उठाएका छन् । सो रकम उनले आफ्नो व्यक्तिगत बैंक खातामा मौज्दात गरी मुख्य रूपमा घर(जग्गामा लगानी गरेका छन् ।

उनले त्यसरी आर्जन गरेको रकम बैंक, आफन्तको नाममा, सेयर, जग्गा तथा व्यापारमा लगाएको देखिएको छ। विभागले दुई महिनाअघि गण्डकी मेडिकल कलेजमा छापा मारेर त्यहाँको आर्थिक कारोबारका कागजात जफत गरेको थियो।

ती कागजात अनुसन्धान गर्दा मेडिकल कलेजबाट उठाएको अस्वाभाविक रकम अर्यालले आफ्नो निजी बैंक खातामा जम्मा गरेको देखिएको विभाग स्रोतले बतायो।

अर्यालको बैंक खाता रोक्का राख्न विभागले एक महिनाअघि नै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। यसबीचमा गैरकानुनी रकम खुल्दै गएपछि अर्यालले अनुसन्धानलाई प्रभावित पार्न खोजेका थिए।

अर्यालका आधा दर्जन बढी बैंकमा रहेका खाता रोक्का राखिएको छ । उनले पछिल्लो समय लगानी गरेका घर(जग्गा मालपोतबाट रोक्का गरिएको छ ।

नेपाली कांग्रेसनिकट मानिने अर्याल स्याङजाका हुन्। भिरकोट नगरपालिका(७ उनको स्थायी बसोबास हो। पोखराको गण्डकी मेडिकल कलेजसँगै उनको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पनि लगानी छ । विभागले प्रमुख रूपमा अर्यालले विद्यार्थीबाट उठाएको गैरकानुनी रकम आफ्नो निजी बैंक खातामा जम्मा गरेको देखिएको बताएको छ। र, सो रकम घर(जग्गा, सेयर तथा अन्य व्यापारमा लगानी गरेको देखिएको बताएको छ।

अर्यालले केही वर्षयता वर्षेनी एउटा ब्याचका विद्यार्थीबाट १० लाख रूपैयाँ गैरकानुनी उठाउने गरेका थिए। पछिल्लो ब्याचमा त्यो बढाएर १५ लाख पुर्‍याएका थिए। यसरी उनले ९० जना सशुल्क पढ्ने एमबिबिएस विद्यार्थीको एक ब्याचबाट मात्रै ९ करोडदेखि साढे १३ करोडसम्म ठगी गरेको थाहा भएको छ।

२०७२ यताका चार ब्याचका विद्यार्थीसँग उनले कम्तीमा ४० करोड गैरकानुनी रूपले उठाएको देखिएको छ। सो रकम कलेजको आधिकारिक खातामा नदेखिएको विभाग स्रोतले बतायो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.