प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीको तस्वीरमा जुत्ता प्रहार

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीको तस्वीरमा जुत्ता प्रहार

३ माघ, जनकपुर । प्रदेश २ सरकारका मुख्यमन्त्रीसहित प्रमुख मन्त्रीको तस्वीर अंकित गरिएको ब्यानरमा जुत्ता प्रहार भएको छ ।

जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित तस्बिरमा जुत्ता हान्न थालेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहँदा उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुको तस्बिरमा सार्वजनिकस्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै प्रहरीले पक्राउ गरेको हो ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रदेश सरकारले बक्र्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.