४ माघ, चितवन। सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ देश विदेशमा विभिन्न कार्यक्रमहरु गरिरहदा चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन् । भरतपुर महानगरपालिका १ रामनगरमा शुक्रबार बिहान सवा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका हुन्। पोखराबाट सौराहा आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो।
घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना भवितब्य हो यो आफैमा दुखद घटना हो । तर भ्रमण वर्षमा आएका पर्यटकहरु सवार बस नै दुर्घटनामा पर्नु भ्रमण वर्षको उद्धेश्य पूरा गर्न थप जटिलता पैदा गर्नुहो ।
यस्ता घटनाले बाहिर नकारात्मक सन्देश जानेमा दुई मत छैन । यसैले पनि पूर्वाधार र प्राविधिक पक्षलाई मजबुत बनाउन सरोकारवालाहरुले जोड दिनुपर्दछ ।