आज प्रतिनिधिसभा बैठक बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने

आज प्रतिनिधिसभा बैठक बस्दै, सभामुख निर्वाचन प्रक्रिया सुरु हुने

६ माघ, काठमाडौं ।

प्रतिनिधिसभा बैठक आज बस्दै छ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि आज दिउँसो १ बजे बस्न लागेको हो ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । संघीय संसद् सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ ।

प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । नेकपाले सभामुख उम्मेदवार चयन गरेसँगै शिवमायाले राजीनामा दिनुपर्ने भएको छ । यद्यपि, शिवमायाले आफ्नो राजीनामाबारे केही बताएकी छैनन् ।

शिवमायाले सोमबार नै उपसभामुखबाट राजीनामाको घोषणा गरेमा संसद् सचिवालयले एकसाथ दुवै पदको निर्वाचन प्रक्रिया थाल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.