६ माघ, काठमाडौं ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।
संसद सुरु हुनु केही अगाडि मात्रै राजीनामा दिने तयारीमा उनी रहेकी छन् । उनले राजीनामा सभामुखलाई सम्बोधन गरेर ज्येष्ठ सदस्यलाई हस्तान्तरण गर्ने छिन्। संसद नियमावली अनुसार जेष्ठ सदस्यले राजीनामापत्र सदनमा वाचन गरेपछि स्वतः स्वीकृत भएको मानिन्छ।
ज्येष्ठ सदस्यले सदनमा वाचन गरेपछि राजीनामापत्र संसद सचिवालयलाई बुझाइने छ। सोमबार १ बजेका लागि बोलाइएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्।
संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयन गर्न बुधबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको जनाएको छ। संसदको कार्यव्यवस्था परामर्श समितिले यही बुधबार सभामुख निर्वाचन गर्ने प्रस्ताव गरेको हो।
बुधबार नभए शुक्रबार सभामुख निर्वाचन गर्ने तयारीका बारेमा सचिवालयमा छलफल भइरहेको छ।