६ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीयदलको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदियदलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए ।
सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ ।
पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुनभन्दै नेकपाको राष्ट्रिय सभा संसदियदलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।