दामन घटनाप्रति भारतीय विदेशमन्त्रीद्वारा दुःख व्यक्त, मृतकको शव दुतावासमार्फत बुझाइने

दामन घटनाप्रति भारतीय विदेशमन्त्रीद्वारा दुःख व्यक्त, मृतकको शव दुतावासमार्फत बुझाइने

७ माघ, काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे दुस्ख व्यक्त गरेका छन् ।

मंगलबार ट्वीट गर्दै जयशंकरले नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको बताएका छन् । काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ।

दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन् । यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए ।

नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत् शव आफन्तको जिम्मा लगाउने भएको हो।

मृतक आठै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार शवको पोस्टमार्टम सकिएको छैन। पोस्टमार्टम सकिएपछि कानुनी रूपमा शव बुझाउने कागजात मिलाइने उनले बताए।

सोमबार थाहा नगरपालिका(४ सिमभञ्ज्याङस्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। उनीहरूलाई हेलिकप्टरमा काठमाडौं ल्याइएकोमा मृत्यु भएको थियो। मृतकहरू भारत केरलाका हुन्।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.