७ माघ, काठमाडौं । बक्यौता रहेको उखुको मुल्य माघ ७ गतेसम्म भुक्तानी हुने आश्वासन पाएका उखु किसानको मुहारमा केही खुशी छाएको छ ।
६ वर्षदेखि बाँकी रहेको उखुको मुल्य मध्य केही उद्योगले भुक्तानी गर्ने तयारी गरेपछि थोरै भएपनि किसानका मुहारमा खुशी देखिने भएको हो ।
उखुको भुक्तानी नपाएको विरोधमा सर्लाहीका किसान केही साताअघि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । १० दिनसम्मको विरोध प्रदर्शनपछि सरकारले भुक्तानी दिलाइदिने प्रतिबद्धता जनायो ।

उखु किसानको भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माइतिघरमा आन्दोलन गरेका किसानलाई घर फर्काए ।
उद्योग मन्त्री लेखराज भट्टले माघ ७ गतेसम्ममा उखु किसानको सबै रकम दिलाइदिने प्रतिबद्धता गरे। मन्त्रीको प्रतिबद्धताको आधारमा उखु किसान घर फर्किए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघको पहिलो हप्ता भित्रमा किसानको सबै भुक्तानी तिर्न भन्दै महालक्ष्मी र अन्नपूर्ण चिनी मिलका मालिकलाई शुक्रबार मात्रै चिठी काट्यो । महालक्ष्मी चिनी मिलबाट उखु किसानको २१ करोड र अन्नपूर्णबाट ५० करोड रूपैयाँ भुक्तानी हुन बाँकी छ ।
त्यस्तै श्री राम सुगर मिल्सको ४२ करोड रूपैयाँ बक्यौता छ भने लुम्बिनी चिनी मिलबाट पनि पैसा लिन बाँकी रहेको उखु किसानहरूले बताएका छन् । मन्त्रालयलका अनुसार हालसम्म अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवालबाट ३ करोड ९० लाख र महालक्ष्मी मिलका मालिक विरेन्द्र कनौडियाबाट साढे ११ करोड भुक्तानी भएको छ ।तर किसानको हातमा भने अहिलेसम्म ८ करोड मात्र परेको सर्लाही किसान संघर्ष समितिका सचिव हरिश्याम राय यादवले बताए ।
मन्त्री भट्टका अनुसार अन्नपूर्ण र महालक्ष्मीले आज बेलुकासम्मका केही रकम तिर्ने प्रतिबद्धता गरेका छन ्। लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएकाले उनको परिवारसँग सम्पर्क गराइदिन पुनः गृह, अर्थ र सिडिओ कार्यालयलाई पत्राचार गरेको मन्त्री भट्टले बताए ।
मन्त्री भट्टका अनुसार श्रीराम सुगर मिल्सले सम्पत्ति बेचेर बैंक र किसान दुबैको पैसा तिर्ने मन्त्रालयलाई जानकारी गराएको छ । उखु किसानले चिनी उद्योगीबाट ६ वर्षअघि देखिको उखुको पैसा लिन बाँकी छ। उद्योगीले पैसा नदिएपछि गत महिना उखु किसान आन्दोलनमा उत्रिएका थिए।