बागमतीबाट १२ हजार टन फोहोर उठाईयो

बागमतीबाट १२ हजार टन फोहोर उठाईयो

११ माघ, काठमाडौँ ।
बागमती सफाई महाभियानको ३ सय ५० औं हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ । ७ वर्ष अगाडीबाट सुरु भएको अभियानको शनिबार ३ सय ५० औं हप्ता पुगेको छ । ३ सय ५० औं हप्तासम्म आइपुग्दा १० लाखभन्दा बढी स्वयमसेवक बागमती सरसफाई महाअभियानमा सहभागि भएका छन् ।

वि.स. २०७० सालबाट सुरु गरिएको बागमती सरसफाई महाअभियानको ३५० औं हप्तामा आजपनि बागमतीको सरसफाई गरिएको छ । २०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको सुरुवात गरिएको थियो । अभियान सुरु भएपछि बागमतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाई थालिएको छ । उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ ।

उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु संचालन भइरहेको छ । ३ सय ५० हप्तामा महाअभियान प्रवेश गरेको विशेष अवशरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ ।

शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३ सय ५० औं हप्ताको बिशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गरेका हुन । वडाले अघि सारेको अवधारणामा अबको २ बर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरु समेटिएका छन् । त्यसैगरी यहि बर्ष चेस पार्कको निर्माण सम्पन्न गर्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समितिसँग मिलेर प्रसुति गृह पछाडिको करीब ५८ रोपनी जग्गामा हरियाली कायम गर्ने लगायतका योजना पनि छन् ।

यस्तै घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराउने व्यवहार नियन्त्रण गर्ने, सार्वजनिक जग्गा संरक्षण गरी सार्वजनिक उपयोगमा ल्याउने, तरल फोहोर प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने तथा अतिक्रमित जग्गालाई संरक्षण गर्ने बिषय समेटिएका छन् ।

नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक÷धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता हुँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.