११ माघ, काठमाडौं ।
मुख्य शहर र राजमार्गहरुमा ५० चार्जिङ स्टेसन स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले ग्लोबल बोलपत्र (टेन्डर) निकालेको छ । प्राधिकरणले काठमाडौं, राजमार्ग क्षेत्र र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न टेन्डर गरको हो ।
प्राधिकरणले उपत्यकाबाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतसँग आवेदन लिइसकेको छ ।
बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले जानकारी दिए । उनका अनुसार एक घण्टामा फूल चार्ज गर्न सकिने गरी डिसी बुस्ट चार्जिङ राख्न लागिएको हो । एकपटक फूल चार्ज भएपछि ३ सय किलोमिटरसम्म सवारी गुड्न सक्ने गरी स्टेसनहरु निर्माण गर्न लागिएको उनले भने ।
यो चर्जिङ स्टेसनमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । यस्ता चार्जिङ स्टेसनमा तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने छ । उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ । चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही समयभित्रै बोलपत्र आह्वान गरिने ज्ञवालीले बताए । टेन्डरबाट कम्पनी छनिएको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।